कृष्णप्रसाद मास्केले सिङ्गो जीवन कर्मयोगमा बिताउनु भएको छ । कर्ममा साधना गर्नु भएको छ । जतिबेला जे काम गर्यो, त्यो भित्री हृदयदेखि गर्दा त्यो काम नभई साधना हुन्छ । ईश्वरको उपासना गरेझैं कर्म गरेपछि त्यो साधनामा परिणत हुन्छ । त्यो कर्म जीवनभर गर्दा कर्मयोगी बन्दछ । उहाँ पनि जीवनभर कर्मयोगमा हिँडेको एक साधक जस्तै लाग्दछ ।
- कमल ढकाल
जीवन संघर्ष त हुँदै हो भेटिन्छन् छुटिन्छन् प्रकृतिको शाश्वत सत्यलाई स्वीकार्नुको अर्को विकल्प पनि के रहेछ र ? आखिर जीवनमा अनेक उतारचढाव त आइरहन्छन् गइरहन्छन् । मैले पनि जीवनका उतारचढावहरूलाई बोध गर्दै जीवनको उत्तराद्र्धतिरको समयसँग पौंठेजोरी खेलिरहेको छु । मेरी सखी मेरी जीवन संगीनी जाम्बवतिले हाम्रो जीवनमा भौतिक रूपमा उपस्थित नभए पनि अनेकौँ सम्झना म र मेरो परिवारमा छोडेकी छिन् । उनैले दिएका सुन्दर उपहार छोराछोरीहरूको मेहनत, कर्म, लगनशीलता र उपलब्धिबाट मैले आत्मसन्तुष्टि लिइरहेको छु । जाम्बवतिलाई हरेक क्षण स्मरण पनि गरिरहन्छु । मलाई आध्यात्मिक, धार्मिक र सामाजिक सेवाको क्षेत्रमा लाग्न प्रेरणा दिने मुख्य स्रोत दोलखाकै वस्तुस्थिति हो । मेरो बाल्यकाल दोलखाको हावापानी, वन, पहाड, मनोहर पहरा, टोलटोलका मठमन्दिरहरू, सुन्दर बाटाघाटा, हाम्रा पूर्वज, हाम्रा वर्तमान सन्ततिहरू मेरो प्रेरणाका स्रोत हुन् ।